बोस्टन कलेजले ‘बिआइसी ह्याकाथन’ गर्दै

भरतपुर । बोस्टन इन्टरनेसनल कलेजले स्थापना गरेको क्लब बोस्टन सेन्टर फर इन्फरमेसन एण्ड टेक्नोलोजीले तेस्रो संस्करणको ‘बिआइसी ह्याकाथन भर्जन ३.०’ आयोजना गर्ने भएको छ ।

पुस ४ गतेदेखि लगातार ४८ घन्टा हुने ह्याकाथनमा विभिन्न विश्वविद्यालयका १० देखि १५ वटासम्म टिम सहभागी हुने छन् । ह्याकाथन भनेको सामाजिक कोडिङ कार्यक्रम हो, जसले नयाँ सफ्टवेयर विकास गर्ने तथा सुधार गर्ने काम गर्छ ।

ह्याकाथनमा देशभरका कक्षा ११, १२ र स्नातक तहमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुको समूहले सहभागिता जनाउन सक्ने क्लबले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । समूह दर्ताका लागि नोभेम्बर २२ देखि ३० सम्म प्रतिटोली ४५ सय, डिसेम्बर १ देखि ८ सम्म प्रतिटोली छ हजार र डिसेम्बर ९ देखि १२ सम्म प्रतिटोली ६५ सय रूपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।

ह्याकाथनमा प्रथम हुने टोलीले ३५ हजार, दोस्रो हुने टोलीले २५ हजार र तेस्रो हुने टोलीले १५ हजार रूपैयाँ प्राप्त गर्ने बोस्टन इन्टरनेसनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बताए । साथमा उनीहरु रनिङ शिल्ड र प्रमाणपत्र पनि पाउने छन् । एउटा टोलीमा कम्तीमा दुईदेखि बढीमा तीन जना सदस्य हुन पाउने छन् ।

सहभागी सबैलाई कलेजले खान, बस्न र बिमाको व्यवस्था गर्ने छ । कार्यक्रमले सहभागी विद्यार्थीहरुको प्राविधिक र व्यावसायिक कौशलतामा विकास गर्ने जनाइएको छ । नेपालका विभिन्न सूचना प्रविधि कम्पनीका विशेषज्ञहरुले प्रतियोगितामा निर्णायकको भूमिका खेल्ने बताइएको छ ।

बोस्टन इन्टरनेसनल कलेजमा दिवा सत्रका कोअर्डिनेटर नवीनकुमार श्रेष्ठले अघिल्लो प्रतियोगितामा विजेता बनेका विद्यार्थीले भारतीय कम्पनीमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको बताए । ह्याकाथन ‘ह्याकर’ र ‘म्याराथन’ दुई शब्द मिलेर बनेको शब्द हो । जहाँ ह्याकर भनेको एक चलाख प्रोग्रामर र म्याराथन भनेको एक सीमित अवधिभित्र रहेर सहनशीलतापूर्वक कोडिङ गर्नु हो ।

News Source  :https://echitwanpost.com/232185/2023112310/31/43/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments